काठमाडौं, ८ साउन । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।
महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उहाँको भनाई थियो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताउनु भयो । अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताउनु भयो । अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरु नै नवधनाढय वर्गमा परिणत भएको दावी गर्नु भयो ।