नवीन कर्ण
विराटनगर क्षेत्रमा पछिल्लो समय हत्या हिंसासहितका अपराधको श्रृंखला बढ्दै गएको छ । श्रृंखलाबद्ध घटनाकै कडीका रुपमा मंगलबार श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साढे ९ बजे सिरहा गोलबजारका ४५ बर्षिय दीलिप सहनीले आफैले भागी विवाह गरेका विराटनगर–११ पिचराकी ४० बर्षिया श्रीमति पुनम सहनी, २० बर्षिया छोरी बर्षिय मनिता सहनी र २७ बर्षिय सालो सन्दिप सहनीलाई दाउ प्रहार गरि हत्या प्रयास गरेका छन । विराटनगर पिचरास्थित डेरामा बसिरहेको अवस्थामा बिहान साढे ९ बजे तीनै जनामाथि दीलिपले दाउ प्रहार गरेका थिए । वैदेशिक रोजगारीको क्रममा कुवेत जाँदा पुनम र अभियुक्त दीलिपको फेसबुकबाट चिनजान भएको र नेपाल फर्किएपछि काठमाडांैमा परिवारको सहमतिविपरीत विवाह गरेको पुनमकी आमा श्रीमती सहनीले जानकारी दिइन् । यसअघि पुनमले पहिलो विवाह गरेका श्रीमानको ५ बर्षअघि मृत्यु भइसेकेको र अभियुक्त दीलिपसमेत यसअघि दुईवटा विवाह गरेको र तेश्रो श्रीमतिका रुपमा पुनमसँग भागी विवाह गरेको उनको भनाइ छ । भागी विवाहपश्चात पुनम विराटनगर–११ मा माइती नजिकै डेरा गरी बस्दै आएकी छन् भने अभियुक्त दीलिप गोलबजारमै बस्दै आएका थिए । मंगलबार मार्ने उद्देश्यसहित विराटनगर आएका दीलिपले डेरा प्रवेश गरि एक्काशी पुनममाथि दाउ प्रहार गरेका थिए । दाउ प्रहारगर्ने क्रममा जोगाउन गएका अन्य दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन । श्रीमानले यसअघिदेखि नै आफुलाई अरुसँग अनुचित सम्बन्ध बनाएको आरोप लगाएर यातना दिने गरेको घाइते पुनमको भनाइ छ । घाइते तीनैजनाको कोशी अंचल अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ । उनलाई अस्पतालको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । यस्तै मनिताको टाउको पछाडी काटिएको छ भने सन्दिपको कुम मुनि काटिएको छ । दाउ प्रहार गर्ने दिलीपलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार विराटनगरमै भएको सुरक्षा गार्डको हत्या र केही दिन अघिमात्र विराटनगरकै एक युवतीको जघन्य हत्या प्रकरण सेलाउन नपाउँदै हत्या प्रयासको यो घटनाले विराटनगरवासीमा त्रास उत्पन्न भएको छ । महानगरपालिकामा भएको बम विस्फोट र त्यसअघि जतुवामा निवस्त्र अवस्थामा भेटिएकी महिला हत्याको विषयले समेत नगरवासीमा मानसिक तनाव उत्पन्न गराएको छ ।