Thursday, November 21, 2024
Home > मुख्य समाचार > सहमतिपछि आमरण अनशन तोडियो

सहमतिपछि आमरण अनशन तोडियो

कटहरी, ९ असार । माग पुरा गर्ने सहमतिपछि मोरङको कटहरी ३ का वडाध्यक्ष तथा सदस्यहरुले विभिन्न माग राखी शुरु गरेको आमरण अनशन तोडेका छन् । माग सम्बोधन गर्ने सहमति भएपछि हिजो साँझ देखी वडाध्यक्ष जदुलाल कामत र सदस्यहरुले अनशन अन्त्य गरेका हुन । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अनसनरत कामतलाई जुस खुवाएर अनशन अन्त्य गराउनुभएको थियो । कामतले उठाएका मुद्धा सम्बोधन गर्ने सहमति भएको भनेर अनशन तोडिएपनि सम्झौताका बुँदाहरु सार्वजनिक गरिएको छैन । कामतको अनशन तोडाउन मन्त्री लिम्बु सहित कोशी प्रदेश सभा सदस्य  भीम पराजुली र काँग्रेसका क्षेत्रीय तथा जिल्ला नेताहरु कटहरी पुगेका थिए । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै मन्त्री लिम्बुले कामतले उठाएका बिषयहरुलाई तिनतहको सरकारले आ–आफ्ना क्षेत्राधिकार अनुसार सम्बोधन गर्ने प्रतिक्रिया दिनुभयो ।

निर्माणाधिन हुलाकी राजमार्ग निर्माणमा भएको ढिलाईका कारण दुर्घटना बढेको बिरोधमा भएको प्रदर्शनको क्रममा कटहरी गाउँपालिका कार्यालय लक्षित भएपछि असार ३२ गते तनाव सिर्जना भएको थियो । प्रदर्शनका क्रममा केही सवारीसाधनमा तोडफोड र पालिका अध्यक्ष बिरुद्ध आपत्तीजनक शब्दहरु प्रयोगगरि केहि स्थानीयले नाराबाजी तथा प्रर्दशन गरेपछि गाउँपालिकाले कारवाहीको माग गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । ५ जना स्थानीयको नाम किटान गरी निवेदन परेपछि प्रहरीेले तत्कालै एकजनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसलगत्तै गाउँपालिका अध्यक्ष देवराज चौधरी र वडाध्यक्ष कामतबिच विवाद बढेको थियो । वडाध्यक्ष कामतले पालिका अध्यक्ष चौधरीले बिना कारण स्थानियलाई मुद्धा चलाउन लगाएको भन्दै असार ६ गते पत्रकार सम्मेलन गर्दै आमरण अनशनको घोषणा गर्नुभएको थियो । मुद्धा फिर्ता र हुलाकी सडकको अविलम्ब निर्माणको माग गर्दै कामत असार ७ गते बिहान १० बजेबाट गाउँपालिका परिसरमा अनसन शुरु गर्नु भएको थियो । अनसन तोडिएपछि कोशी अस्पतालमा कामतको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *