काठमाडौं, १ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ ।
अहिले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपाटी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति ठिक नभएको उहाँको भनाइ थियो । आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्ने प्रावधान राखिएकोे बताउनु भयो । उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेपनि त्यसलाई संशोधन गर्न भने मिल्ने परिपार्टी नभएको बताउनु भयो ।