काठमाडौं, १ असार । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो । पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाई थियो ।
आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने बताउनुभयो । प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रिय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरुको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराउनु भयो । प्रमुख सचेतक लेखकले अरु पार्टीहरुको भन्दा युवा पुस्ता नेतृत्वमा पु¥याउने काम नेपाली काँग्रेसले गरेको दावी समेत गर्नु भयो ।