काठमाडौं, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ । आज संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो । उहाँले उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब हामी जुडिसियल एकेडेमीलाई प्रोफेसनल बनाउने र त्यो जुडिसियल एकेडेमीमा न्यायाधीशहरुको एउटा कोर्स नै डेभलप गर्ने र त्यो न्यायाधीशको कोर्ष गरेको मान्छेमात्रै न्यायाधीश हुनसक्ने व्यवस्था गर्दैछौँ । त्यसले न्यायाधीशको योग्यता, क्षमत, निष्ठा, इमान, त्यो तालिममा सबै कुराहरु समावेश हुन्छन् । त्यस्तोमा मिनिमम प्रतिशत ल्याएरको व्यक्ति मात्रै न्यायाधीश हुनसक्ने प्रणाली विकास गर्नसक्यो भने अहिले भएका न्यायाधीशमा उठ्ने गरेका प्रश्नहरुको ५० प्रतिशत समाधान त्यहीँबाट निस्किन्छ । बाँकी ५० प्रतिशत व्यवहारबाट गर्नेकुरा हो । त्यसबाट हामी अघि बढ्नुपर्छ भनेर हामीले थ्रि सिएल्स एकेडेमीले जजेज कोर्षको एकेडेमी तयार गर्दैछ । यसले न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्नेछ ।’ कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताउनु भयो । आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको बताउनु भयो ।