काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पिएको आरोप लगाउनु भएको छ । अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्शा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देश संकटमा परेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले देशको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गर्नुभयो । उहाँले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गर्नुभयो । अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताउनु भयो । देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नहुने उहाँको भनाइ थियो ।