नयाँ दिल्ली, २० जेठ । भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३८ पुगेको छ । दुर्घटनामा ९०० भन्दा बढी यात्रु घाइते भएको बिबिसी हिन्दी सेवाले जनाएको छ । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।
अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुग्नु भएको छ । उहाँले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । भारत भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि घटनाप्रति दुख ब्यक्त गर्नु भएको छ । एक ट्वीट गर्दै उहाँले घटनाप्रति दुख ब्यक्त गर्नु भएको हो ।