Friday, November 22, 2024
Home > मुख्य समाचार > नक्कली शरणार्थी काण्डका आरोपितसँगको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

नक्कली शरणार्थी काण्डका आरोपितसँगको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालले आरोपितविरुद्धको बयान आज सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने बताउनुभयो । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।

अब आइतबारदेखि थुनछेक बहस सुरु हुने छ । थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । २०७९ चैत १२ मा तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्व उपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।

आज प्रहरीले पूर्वमन्त्री खाण, भुटानी शरणार्थी नेता रिजाल र अर्का प्रतिवादी हरिभक्त महर्जनसँग बयान लिएको हो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये केशव तुलाधार, अशोक पोखरेल, धिरेन राई, दीपाञ्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशषि बुढाथोकी, बिनिता सामदेव लिम्बु, निरन्जरकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *