काठमाडौं, १९ जेठ । नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका रुपमा फैलिएको छ । गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको पशुसेवा विभागले जनाएको छ । देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको छ । लम्पी स्किन रोग लागेर ६ हजारभन्दा धेरै पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागले जनाएको छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती किरा सक्रिय हुने भएकाले जोखिम कायमै छ ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका अनुसार गाईभैँसीमा लाग्ने सङ्क्रामक यो रोग मुख्य गरी लामखुट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने गर्छ । अहिले उच्च गर्मी र लामखुट्टे तथा किर्ना सक्रिय हुने बेला भएकाले पनि पशुचौपाया जोखिममा परेका डा. ढकालले बताउनुभयो । लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने गरेको छ ।
यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्टा तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । तर यो रोग रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने डा.ढकालले बताउनुभयो । तर सङ्क्रमित गाईभैँसीको ओसारपसार र उनीहरुसँग हुने लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ ।