विराटनगर, १ भदौ । भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोश हुने समस्या देखिएको छ ।
विराटनगर–२ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले दिएको माइलो इनर्जी ङि«क पिउँदा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएको हो । विद्यालयले ब्राण्ड प्रमोसनका लागि छुट्याइदिएको टिफिन टाइमको समयमा सो कम्पनीका प्रतिनिधि र डिलरले दिएको माइलो पिउने बित्तिकै विद्यार्थी बालबालिकाले वान्ता गर्नुका साथै बेहोस भएका थिए । विराटनगर–२ का अभिभावक सुभाषकुमार साहले इनर्जी ड्रिंक पिएपछि आफ्नो छोरी बेहोस भएको बताउनुभयो । उहाँले डेढ दर्जन बढी विद्यार्थीमा सोही प्रकारको समस्या देखिएको बताउनुभयो । विराटनगर–२ कै शान्ति तिम्सिनाले विद्यालयलाई कम्पनीहरूले प्रयोगशालास्थल बनाउन नहुने बताउनुभयो ।
विद्यार्थीले बान्ता गर्दै बेहोस हुन लागेको खबर पाएर आत्तिदै स्कुल पुगेका अभिभावकले आ–आफ्ना बालबालिकालाई उपचार गर्न भन्दै विराटनगरकै विराट अस्पताल लिएर गएका छन । घटनाको सूचना पाएर पुगेको प्रहरीले नेश्ले इण्डियाका विराटनगर डिलर महेन्द्रकुमार अग्रवाललाई नियन्त्रणमा लिएको छ । अग्रवालले विद्यार्थी बालबालिकाले खाली पेटमा जुस पिएका कारण समस्या देखिएको हुनसक्ने दाबी गरे ।
यता बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले इनर्जी ड्रिंक पिएका केही विद्यार्थीमा वान्ता गर्ने समस्या देखिएपनि कुनै पनि विद्यार्थी बेहोस नभएको दाबी गर्नुभयो । अभिभावकले फुड प्वाइजन भएको आशंकामा आफ्ना बालबालिका लिएर अस्पताल गएको उहाँको भनाइ छ ।