Sunday, November 24, 2024
Home > आर्थिक समाचार > संसद विकास कोष व्यक्तिगत रुपमा सांसदलाई पैसा दिइएको हैन : अर्थमन्त्री

संसद विकास कोष व्यक्तिगत रुपमा सांसदलाई पैसा दिइएको हैन : अर्थमन्त्री

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०÷०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सरकारले अहिले जसरी व्यक्तिगत रुपमा सांसदहरुलाई पैसा बाँड्नेको जस्तो प्रचार भइरहेको जस्तो नभएको बताउनु भयो । उहाँले सांसद विकास कोषको ५ करोड बजेट सांसदहरुले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताउनु भयो । अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा नै समानुपातिक रुपमा योजना जाओस भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री महतले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यही अनुसार सरकारले बजेट ल्याएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनमा आयातकर्ताले ठूलो मार्जिन राखेर कारोबार गरेको कारण उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको बताउनु भयो । उहाँले सरकारले नेपालमा नै एसेम्बल गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनु भयो । उहाँले बजेट कार्यान्वयनमा समग्र राज्य संरचनाको प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले शेयर बजारप्रति सकारात्मक रहेको बताउनु भयो। उहाँले शेयर बजारप्रति सकारात्मक रहेको भन्दै बजार बिगार्ने कुनै नियत नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *