विराटनगर, १५ जेठ । नवौं नगर बाल भेला आज बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरका १९ वटै वडाका बाल क्लबले अगामी वर्ष २०८०÷०८१ को कार्यक्रम योजना तर्जुमा र योजना प्राथमिकिकरणको लागि भेला आयोजना गरिएको हो । नगर बाल सञ्जाल विराटनगरको सहआयोजना र विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न भेलाले नगर भित्र रहेको १९ वटै वडाको बालबालिकाको समस्या पहिचान गरि समाधान को उपाय, कार्यक्रम योजना तर्जुमा गर्ने र भाबि योजना निर्माण गरिएको छ । भेलाको उद्घाटन सत्रमा बोल्नु हुँदै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले काठमाडौंले पहिलो बाल भेला गरिरहँदा विराटनगरमा नवौं बाल भेला गरिरहेको भन्दै उहाँले विराटनगर अगाडी र सक्षम रहेको बताउनु भयो ।
बालबालिकाको हक अधिकार सुनिश्चित गर्नुको साथै अगामी बजेटमा तथा कार्यक्रममा बालबालिकालाई समाबेश गराउने बताउनु भयो । कार्यक्रममा बालबालिकाको लागि बालबालिकाले नै २०८०/०८१ को लागि बनाउने कार्यक्रम योजना तर्जुमा र प्राथमिकिकरण गर्ने बताउनु भयो । नगर बालक्लब अध्यक्ष आदित्य झा नगरले बजेट बनाउदा बालबालिकाको समस्यालाई बुझेर बनाउनु पर्नेमाजोड दिनु भयो ।
कार्यक्रम विराटनगर महानगरपालिका प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, महानगर पालिका सामाजिक बिकास समिति प्रमुख तथा वडा न १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।