विराटनगर, १२ जेठ । भारतको बथनाहा–विराटनगर मालवाहक रेल सेवा छिट्टै संचालन हुने भएको छ । केहि साताभित्रै कार्गो रेल संचालन हुने भएपछि रेलको लिक र स्टेशन लगायतको अवस्थाका बिषयमा परीक्षण गर्दै विराटनगर बथनाहा मालवाहक रेल सेवा संचालनको तयारी तीव्र पारिएको छ । आउँदो केहि साताभित्रै रेल संचालन गर्नेगरि रेलमार्ग र स्टेशन लगायतका अवस्थाको परीक्षण गरिएको हो । भारतीय रेल्वेका उच्च अधिकृतहरुले बिहीबार बथनाहा देखी विराटनगर रेलयार्डसम्म रेल कुद्ने लिकको अवस्थाको परीक्षण गरेका छन । भारतीय रेल्वे मालेगाउँ जोनका प्रोफेसर चिफ सेफ्टी अफिसर सिताराम सिंकुुको टोलीले भौतिक अवस्थाको जाँचबुझ गरेको छ । परीक्षणका लागि भारतीय अधिकारीहरु बथनाहा हुँदै रेल सहित विराटनगर यार्डसम्म आएका थिए ।
विराटनगर तर्फको लिक र अन्य भौतिक अवस्थाको बिश्लेषण गरेपछि रेल फेरी भारततर्फै फर्किएको थियो । भारतीय रेल्वेका उच्च अधिकारी सहित दर्जनौंको संख्याका प्राबिधिकहरु उक्त टोलीमा सहभागि थिए । यद्यपि भारतीय अधिकारीहरुले रेल संचालनको बिषयमा कुनैपनि प्रतिक्रिया दिन मानेनन् । परीक्षणको क्रममा एकदुई ठाउँमा रेल लिकमा सामान्य गडबडी फेला परेपछि प्राबिधिक टोलीले तत्कालै मर्मत गरेको थियो । आउँदो जुनको पहिलो सातादेखी कार्गो रेल संचालनको तयारी गरिएको रेल्वे सिभिल वर्क ईन्चार्ज शिवकुमार मण्डलको भनाई छ । १० डिब्बे रेल बथनाहा हुँदै विराटनगर आउने जानकारी पाएपछि ठुलो संख्याका स्थानीय समेत स्टेशन पुगेका थिए । परीक्षणको क्रममा स्टेशन, सिंग्नल र लिकको भौतिक अवस्था दुरुस्त फेला परेको नेपाल–भारत रेल यात्री सहजीकरण समिति, जोगबनीका अध्यक्ष राजेशकुमार शर्माले जानकारी दिनुभयो ।
बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको झण्डै सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल्वे लिक परीक्षण गरिएको थियो । संघीय सरकारको रेल्वे विभाग, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले रेल्वे सञ्चालनका लागि तयार भएको पूर्वाधार भारत पक्षबाट जिम्मा लिइ सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । २०६८ देखि सुरु भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो । कार्गो रेलका लागि अन्तिम स्टेशन विराटनगर पुर्वको कटहरीमा निर्माण गर्नुपर्ने भएपनि मुआब्जा विवादका कारण अझै सुचारु हुन सकेको छैन ।