Friday, November 22, 2024
Home > मुख्य समाचार > ६१ लाख बढीको चोरीको गरगहनासहित तीन जना पक्राउ

६१ लाख बढीको चोरीको गरगहनासहित तीन जना पक्राउ

विराटनगर, ११ जेठ । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदी र २० तोला सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादी र बरामद गरेको चाँदीसहित तीन जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जय किशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सूक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोशी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरिएको डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको उहाँले जनाउनुभयो । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *