Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश सांसदलाई ल्यापटप दिने निर्णय रोक्न एमालेको माग

प्रदेश सांसदलाई ल्यापटप दिने निर्णय रोक्न एमालेको माग

विराटनगर, ८ जेठ । कोशी प्रदेशसभाका सदस्यहरूलाई ल्यापटप दिने निर्णय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सचिवालयले ल्यापटप बितरण गर्न टेन्डर आहवान गरेदेखि नै ल्यापटप दिने निर्णय विवादमा परेको हो । ल्यापटप दिने निर्णयको चौतर्फि बिरोध र आलोचना भएपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरूले नै ल्यापटप खरिद गर्ने प्रक्रिया रोक्न माग गरेका छन् । प्रदेशसभाका मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले औपचारिक रुपमा नै ल्यापटप खरिदको निर्णय रोक्न प्रदेशसभालाई आग्रह गरेका हुन् । नेकपा एमाले संसदीय दलका पदाधिकारीको आज बसेको बैठकले प्रदेशसभा सदस्यहरूलाई ल्यापटप बाँड्ने निर्णय रोक्न माग गरेको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस अघि नै ल्यापपटक खरिदको प्रकृया रोक्न माग गरिसकेको छ । नेपाली कांग्रेसको जेठ ४ गते बसेको संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया तत्काल रोक्न माग गरेको थियो । देश आर्थिक मन्दिमा भएको वेला सांसदहरूलाई ल्यापटप बाँड्ने निर्णय उचित नभएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्दब थापा बताउनु हुन्छ । थापाले ल्यापटप बाँढ्ने निर्णय फिर्ता लिन आग्रह गर्दै प्रदेशसभाले फिर्ता नलिएको अवस्थामा पनि काँग्रेसका सांसदहरूले ल्यापटप नलिने स्पष्ट पार्नुभयो ।

यता प्रदेशसभा सचिवालयले ल्यापटप खरिदको निर्णय विवादमा परेपछि र सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै प्रक्रिया रोक्न माग गरिसकेको अवस्थामा छलफल गरेर आबश्यक निर्णय लिने जानकारी दिएको छ । सांसदहरुलाई बाँड्न भन्दै प्रदेशसभाले १ सयवटा ल्यापटप खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको थियो । प्रदेशसभा सचिवालयले एक हप्ता अगाडि टेण्डर आव्हान गर्दै ल्यापटप खरिद प्रक्रिया सुरु गरेको थियो । यस पटक बजेट पुस्तिकामा ल्यापटप वितरण गर्न बजेट विनियोजन गरिएको थिएन । त्यही पनि एकाएक ल्यापटप किन्न टेण्डर आव्हान गर्दा आश्चर्य लागेको सरोकारवालाहरुले बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *