Monday, November 25, 2024
Home > मुख्य समाचार > खुल्ला कारागारको अवधारणासहित सरकारद्वारा विधेयक तयार

खुल्ला कारागारको अवधारणासहित सरकारद्वारा विधेयक तयार

काठमाण्डौ १६ मंसिर
सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ ।
कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र संघीय कारागार गरी चार भागमा वर्गिकरण गर्ने गरी विधेयक तयार गरिएको बताउनुभयो । खुला कारागारमा रहने कैदीले तोकेको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने छन् । यस्तै प्रदेश कारागार प्रदेश सरकारको मातहतमा हुने छ भने विशेष कसुरको प्रकृति, सुरक्षा संवेदनशिलता र कैद अवधि समेतको आधारमा सजाय पाएका कैदीहरुलाई राखिने गरी विशेष कारागारको व्यवस्था गरिएको छ । यस्तै संघीय सरकार मातहत रहने गरी संघीय कारागारको निर्माण गर्ने व्यवस्था पनि विधेयकमा गरिएको सचिव न्यौपानेले स्पष्ट पार्नुभयो । सरकारको यो प्रस्तावलाई सत्तारुढ दलकै सांसद पम्फा भुसालले भने विरोध गर्नुभएको छ । उहाँले प्रदेश र संघ मातहत रहने गरी कारागारलाई वर्गिकरण गर्नुपर्ने कारण के हो भन्दै प्रश्न गर्नुभयो । देशको आर्थिक भारलाई हेरेर भएपनि कारागारलाई संघ अथवा प्रदेश सरकार कुनै एकवटा मात्रै सञ्चालन हुनेगरी राख्नुपर्ने उहाँको तर्क छ । गृहमन्त्री रामबहादुर थापाले भने संघीय संरचना अन्तर्गत व्यवस्थापन गर्नुपर्ने भएकाले कारागारको वर्गिकरण गरिएको बताउनुभयो । संघ र प्रदेशको कारागार एउटै बनाउने वा छुट्याउने भन्ने विषयमा छलफल भएपनि कानूनी दृष्टिकोणलाई ध्यान दिएर वर्गिकरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले संघ वा प्रदेश कुनै एकलाई मात्रै जिम्मा दिने हो भने कानून नै संशोधन गर्नुपर्ने बताउनुभयो । संघीयता अनुसार कामको बाँडफाँड गरिएकाले पनि प्रदेशको मातहतमा समेत कारागार राख्न पाउने गरी विधेयक ल्याइएको गृहमन्त्री थापाले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *