एजेन्सी २३ कात्तिक
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ ।
योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया र नेभाडा राज्यमा जित हात पारेसँगै जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो । ७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ मा गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ । बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिन्छन् । बाराक ओबामाले अहिलेको चुनावमा बाइडेनलाई जिताउनकालागि निकै भागदौड गर्नुभएको थियो । बाराक ओबामा राष्ट्रपति हुँदा एउटा भाषणमा उहाँले बाइडेनलाई ‘अमेरिकाले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपराष्ट्रपति’ भनेर पनि प्रशंसा गरेको खबरहरुका उल्लेख छ ।