Monday, November 25, 2024
Home > मुख्य समाचार > अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र 

अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र 

काठमाण्डौ २२ कात्तिक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् ।
दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार दाहाल नेतृत्वको टोलीले दुई पृष्ठ लामो पत्र बुझाएर बैठकको माग गरेको छ । प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई भेट्न दाहालसहित शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुग्नुभएको थियो । केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बालुवाटार पुग्नअघि आज पनि दाहालसहितका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए । यसअघि हिजो धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो । एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् । सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल–नेपाल पक्षको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *