Friday, November 22, 2024
Home > मुख्य समाचार > दुहबीस्थित बाल सेवा केन्द्रका बालबालिकाहरुलाई लायन्स क्लबद्वारा कपडा र खाद्य सामग्री हस्तान्तरण

दुहबीस्थित बाल सेवा केन्द्रका बालबालिकाहरुलाई लायन्स क्लबद्वारा कपडा र खाद्य सामग्री हस्तान्तरण

सुनसरी ३० असोज

चाड पर्वका बेला जोकोहीलाई पनि मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने रहर हुन्छ । अझ चाडपर्व आउँदा बालबालिका खुसी हुन्छन् । दसैं–तिहारमा नयाँ लुगा लगाएर साथीसंगी भेला भएर हिंड्दा बालबालिकामा अर्कै उत्साह र उमंग देखिन्छ । तर, यही समाजका धेरै बालबालिकाहरु यस्ता खुसी र अवसरबाट वञ्चित छन् । त्यसैलाई ध्यानमा राखेर अभिभावकविहीन बालबालिकाका लागि लायन्स क्लब अफ विराटनगर पाथिभराले दसैंको किनमेल गरिदिएर उनीहरुको खुसी हुने रहर पूरा गरिदिएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित अनाथ निशान बाल सेवा केन्द्रका बालबालिकाहरुलाई मिठो मसिनो खाने र नयाँ लुगा लगाउने सपना लायन्स क्लब अफ विराटनगर पाथिभराले पूरा गरिदिएको छ । क्लबले विराटनगरको सेन्टर महलमा सेवा केन्द्रका बालबालिकाहरुलाई ल्याएर खाद्यन्न र उनीहरुलाई मन पर्ने कपडा र जुत्ता किनिदिएको हो । यस्तै लायन्स क्लबले उनीहरुको कपालसमेत काटिदिएको छ । चाड पर्वको बेला क्लबले मीठो मसिनो खान र लगाउन व्यवस्था मिलाइ दिएर निकै नै खुसी लागेको सेवा केन्द्रका बालबालिकाहरुको भनाइ छ । खानेकुरासहित नयाँ लुगा पाउँदा बालबालिकाहरु दंग भएका थिए । क्लबले समस्यामा परेका बालबालिकहरुका लागि सेवा गर्दै आएको छ । क्लबले बालबालिकाहरुका लागि नेपालमै पहिलो पटक यस्तो मनकारी भावनाका साथ उदाहरणीय काम गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ, जिएसटी मल्टिपल को–ओर्डिनेटर अनन्त भेटुवाल, क्याविनेट ट्रेजरर श्यामकुमार यादव र विराटनगर एरिया को–ओर्डिनेटर रमेश खत्रीले बताउनुभयो । उहाँहरुले लायन्स क्लबको इतिहासमा यस प्रकारको कार्यक्रम पहिलो पटक भएको भन्दै क्लबका सदस्यहरुलाई लायन्सको विशेष पिन लगाएर सम्मान गर्नुभएको थियो । क्लबले निशान बाल सेवा केन्द्र दुहबीमा पुगेर खाद्यन्न, कपडा, जुत्तालगायतका सामग्री एक कार्यक्रम बीच वितरण गरिएको छ । समाजमा सकारात्मक सोच ल्याउने उद्देश्यले क्लबले यस्तो प्रकारको सामाजिक कार्यक्रम आयोजना गरेको क्लबकी अध्यक्ष गंगा खतिवडा (शाह)ले बताउनुभयो । उहाँले बालबालिकाहरुको हरेक इच्छा, आंकाक्षा पूरा गर्न क्लबका सबै सदस्यहरु लागि पर्ने बताउनुभयो । समाजसेवाका नाममा समाजमा थुप्रै संघसंस्थाहरु खुलेका छन् । यसरी खुलेका संघसंस्थाहरुले वास्तविक रुपमा समाजसेवा गर्ने हो हरेक अभिभावकविहीन बालबालिकाको मुहारमा मुस्कान ल्याउन सकिन्छ । त्यसका लागि लायन्स क्लब अफ विराटनगर पाथीभराले जस्तै सामाजिक काममा अन्य संघसंस्थाहरुले पनि ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *