Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा मोरङको उर्लाबारीमा निर्माण गरिएको २० कोठे लायन नमुना बाल गृह भवन सञ्चालनमा

लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा मोरङको उर्लाबारीमा निर्माण गरिएको २० कोठे लायन नमुना बाल गृह भवन सञ्चालनमा

मोरङ २९ असोज
लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा मोरङको उर्लाबारीमा निर्माण गरिएको २० कोठे लायन नमुना बाल गृह भवन सञ्चालनमा आएको छ । स्थानीय लायन्स क्लब र नमुना बाल गृह उर्लाबारीको साझेदारीमा निर्माण गरिएको भवनमा नमुना बाल गृहमा रहेका बालबालिकालाई राखिनेछ । १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित दुई तले भवनको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । बाल गृहको पुरानो भवन जीर्ण भइसकेको थियो । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले नमुना बाल गृहको नाममा रहेको १ बिघा जग्गामध्ये ४ कट्ठा क्षेत्रफलमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो । बालगृहको भवन जीर्ण भएर बस्नै नहुने अवस्थामा पुगेका बेला लायन्स क्लबले सुविधा सम्पन्न भवन बनाइदिएको छ । भवन बनाइदिएर क्लबले निकै नै सराहनीय काम गरेको बाल गृहकी अध्यक्ष मीना बरालले बताउनुभयो ।अभिभावकविहीन बालबालिकाहरुका लागि अब सहयोगी हातहरु जुटेर साहारा बनेको उहाँले बताउनुभयो । लायन्स क्लब इनटरनेशनल फाउण्डेशन र लायन्स क्लब विराटगर, लायन्स क्लब उर्लाबारीसहित सरकारलाई उहाँले धन्यवाद दिनुभयो । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनका तर्फबाट १ कडोर १५ लाख रुपैयाँ अनुदान रहेको र स्थानीय क्लबका सदस्यहरुबाट ३५ लाख रुपैयाँ संकलन गरी भवन निर्माण गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेलले बताउनुभयो ।उहाँले भवन निर्माण गर्न निकै नै चुनौती व्यहोर्नुपरेको सुनाउनुभयो । तर, क्लबका सदस्यहरुको सहयोग र साझेदारीले एक वर्षभित्रै भवन निर्माण सम्पन्न गर्न सफल भएको उहाँको भनाइ थियो । लायन्स क्लब इनटरनेशनल फाउण्डेशन र स्थानीय लायन्स क्लबहरुको सहयोगले भवनको निर्माण सम्पन्न भएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ए वानका डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ, जिएसटी मल्टिपल को–ओर्डिनेटर अनन्त भेटुवाल र पूर्वचियर पर्सन बालकृष्ण बुर्लाकोटीले बताउनुभयो । सामाजिक काममा लायन्स क्लब जहिले पनि अग्रपंक्तिमा उभिएर सबैसँग हातेमालो गर्दै अघि बढ्ने उहाँहरुले बताउनुभयो ।कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले नमुना बालगृह भवनलाई प्रदेश सरकारले संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले प्रदेश सरकारको तर्फबाट अनाथ रहेका बालबालिकाहरुका लागि सहयोग जुटाउन कुनै कमी रहन नदिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा भवन निर्माणका लागि नक्सा बनाउनेदेखि सम्पन्न नहुञ्जेलसम्म सहयोग गर्ने इन्जिनियर कृष्णहरि पोखरेलसहित विभिन्न व्यक्ति र संघसंस्थालाई सम्मान गरिएको थियो । उर्लाबारीमा २०५७ सालदेखि नमुना बालगृह सञ्चालनमा छ । नयाँ भवन बनेपछि बालबालिकालाई राख्न सहज भएको भन्दै व्यवस्थापन समितिले खुसी व्यक्त गरेको छ । लायन्स क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । लायन्सले जस्तै अन्य संघसंस्थाले पनि सामाजिक काम ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *