विराटनगर २९ असोज
अस्पतालमा लागेको उपचार खर्च तिर्न नसकेका कारण सिरहाका एक विपन्न परिवार मृत्यु भएका आफ्ना दुई वर्षे छोराको शव अस्पतालमै छाडेर जाने बाध्यतामा पुगेका छन् । अस्पतालले तोकिदिएको न्यूनतम शुल्कसमेत तिर्न नसकेका कारण उनीहरु अस्पतालमै शव छाडेर जाने निष्कर्षमा पुगेका हुन् । विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएका सिराहको मानपुर घर भएका २ वर्षिय बालक सिद्धार्थ सदाका आफन्तले अस्पतालमै शव छाडेर जानुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा उपचारका लागि ल्याइएका बालक सिद्धार्थको सोमबार मृत्यु भएको थियो । सिद्धार्थको आन्द्रामा समस्या आएपछि उनलाई उपचारका लागि विराट नर्सिङ्ग होममा भर्ना गरिएको थियो । असोज १५ भर्ना गरिएका बालकको आन्द्रा फुटेको भन्दै अस्पतालले पहिलो पटक शल्यक्रिया गरिदिएको थियो । अस्पतालका सर्जन डा. आर. के. सिंहले बालकको शल्यक्रिया गरेको पीडित परिवारले जानकारी दिएका छन् । शल्यक्रिया गरेको एक सातापछि पुनः स्वास्थ्यमा समस्या आयो । असोज २३ मा फेरि पनि उनको शल्यक्रिया गरिएको थियो । दोस्रो पटक शल्यक्रिया गरेको सोमबार साँझ बालकको मृत्यु भएको थियो । सिद्धार्थको दुई पटक शल्यक्रियासहितको सम्पूर्ण खर्च करिब ३ लाख रुपैयाँ भएको मृतकका आफन्तले जानकारी दिएका छन् । पीडित परिवारले हालसम्म अस्पताललाई तिरेको ७० हजार रकमसमेत गाउँबाटै ऋण काढेर ल्याएको बताएका छन् । मृतक बालकका बाबुको समेत २० दिनअघि सडक दुर्घनामा मृत्यु भइसकेको छ । ऋण काढेर ल्याएको रकमसमेत उपचारमै सकिएपछि आफूले छोराको शव पाउन नसकेको सुनिता सदाले गुनासो गर्नुभयो । अस्पतालबाहेक औषधि पसलबाट लगिएको औषधिको मूल्यसमेत ७० हजार पुगेको छ । जसमध्ये मृतक परिवारले हालसम्म ९ हजार रुपैयाँ मात्र तिर्न सकेका छन । सुरुमा ७० हजार तिरेपछि अस्पतालले १ लाख ९० हजार रुपैयाँ छुट गरेकाले अहिले ४० हजार रुपैयाँ बुझाएपछि मात्र शव लान दिने अस्पतालले भन्दै आएको मृतकका आफन्तले बताएका छन् । अस्पतालले ४० हजार रुपैयाँ बुझाए शव लान दिने बताए पनि त्यति रकमसमेत आफन्तसँग नभएपछि पीडित परिवार समस्यामा परेका छन् । विराट अस्पतालका प्रशासन प्रमुख पदम बिडलाले गम्भिर अवस्थामा आएको विरामीको उपचारको क्रममा मृत्यु हुन पुगेको बताउनुभयो । उहाँले सुरूमै आफूहरुले बालकको अवस्था गम्भीर रहेको विषयमा परिवारलाई जानकारी गराएको बताउनुभयो । प्रशासन प्रमुख बिडलाले आर्थिक अवस्था नाजुक भएको परिवार भएकाले भारी छुट गरेर न्यूनतम शुल्क मात्र दिन भनिएको प्रतिक्रिया समेत दिनुभयो । बालकको शव बुझ्न नपाएका मृतक परिवार अस्पताल सामुन्नेको एक मेडिकल पसलको भर्याङमा शव कुरेर बसिरहेका छन ।