Friday, November 22, 2024
Home > मुख्य समाचार > कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाण्डौ २९ असोज

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । हिजो थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुर जिल्लामा ३ सय ५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८ सय १९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ हजार ५ सय ४८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको छ । यसैबीच, सरकारले कोरोना विमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सरकारले ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *