एजेन्सी २९ असोज
युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । हिजोराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयरको अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एकसय ६१ रन बनायो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी श आउट हुन पुगे । टिमको स्कोरबोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए । सुरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस ऐयरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् । त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान ऐयर पनि अर्धशतकिय पारीका साथ बिदा भएका थिए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय १४८ रनमा रोकियो । राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१ र सञ्जु सामसानले २५ रन बनाए । जितपछि शीर्षस्थानमा उक्लिएको दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।