भोजपुर २६ असोज
विद्युत सेवाबाट बञ्चित परिवारहरुका लागि बिकट गाउँमा नै पुगेर नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु गरेको छ । प्राधिकरणले आफ्नै घर आँगनमा आएर मिटर बितरण गरेकामा स्थानीयसमेत खुशी देखिएका छन् । प्राधिकरणले जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर ८ तुङगेछाका करिब २ सय घरपरिवारलाई गाउँमा नै गएर बिद्युत मिटर बितरण गरेको हो । यातायातका साधनसमेत संचालनमा आउन नसकेको र कोरोनाको जोखिमलाई समेत ध्यान दिएर गाउँमै गएर मिटर बितरण गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो । भोजपुर पहाडी जिल्ला भएकाले धैरै संख्यामा सदरमुकाममा आएर बिद्युत मिटर लिन समस्या हुने भएकाले प्राधिकरणले बिद्युत बिस्तार भएका क्षेत्रमा गाउँमै पुगेर मिटर बितरण गर्दै आइरहेको केन्द्रले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका अनुसार भोजपुरमा रहेका २ नगरपालिका र ७ गाउँपालिकामा हालसम्म ४७ प्रतिशत मात्र बिद्युतीकरण भएको छ ।