काठमाण्डौ २६ असोअ
रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाउनुभएको हो । श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाका लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको गुनासो सचिव यादवले गर्नुभयो । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफुहरु आशावादि रहेको पनि किसानहरुको भनाई छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको गुनासो किसानहरुको छ । किसानहरुले आर्थिक वर्ष २०७१÷०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५÷०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।