Sunday, November 24, 2024
Home > मुख्य समाचार > भारतसँग जोडिएका मुख्य नाका बन्द भएपनि अन्य नाकाबाट खुलेआम आउजाउ

भारतसँग जोडिएका मुख्य नाका बन्द भएपनि अन्य नाकाबाट खुलेआम आउजाउ

बिराटनग २६ असोज

नेपाल–भारतको सीमा नाकाबाट आउजाउ पूर्ण बन्द भए पनि विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनी दैनिक सयौं नेपाली पुग्छन् । सम्भावित संक्रमणलाई मध्यनजर गरेर सीमानाका बन्द गरिएको भए पनि सीमावर्ती भारतीय बजार आउजाउ गर्ने गरेको पाइएको छ ।  कोभिड–१९का कारण नेपालसँगको अन्तर्राष्ट्रिय सिमाना पूर्ण बन्द गरेको भनिए पनि भारतसँग जोडिएको विराटनगरको स्लामपुर नाका क्षेत्रमा खुल्ला रुपमा आउजाउ भइरहेको छ । मुख्य नाका जोगबनी र आइसिपीमा मानिसको आउजाउ नभए पनि छेउछाउका नाकामा खुलेआम आउजाउ हुने गरेको हो । आइसिपी र रानीको बीचमा रहेको इस्लामपुर नाकाबाट दैनिक ३ हजारभन्दा बढी नेपाली जोगवनीमा सामान खरिद गर्न पुुग्ने गरेका छन् । ठूलो संख्यामा मानिसहरु नेपालबाट इस्लामपुर नाका हँुदै जोगवनी सामान किन्न जाने गरेको स्थानीयको भनाइ छ । इस्लामपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बसे पनि नेपालतर्फबाट मानिसहरु सहजै आउजाउ गरिरहेका छन् । तरकारीलगायतका सामान किन्न हटिया जानेलाई भने प्रहरीले रोक्ने गरेको स्थानीयको भनाइ छ ।
कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भने मेला लाग्ने गरेको छ । सो नाका हुँदै जोगवनी जानेमा महिला र बालबालिकाको संख्या बढी छ । मेला लाग्ने गरेको इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ । दिउँसो कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान कटाउने गरेको स्थानीय सलिम मियाँको आरोप छ । यता मोरङ प्रहरीले सिमानाका कडाई गरेको दाबी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख  प्रहरी उपरिक्षक सन्तोष खड्काले प्रहरीले रकम लिएको भन्ने आरोपको खण्डन गर्नुभयो । प्रहरी उपरिक्षक खड्काले कुनै प्रहरीले रकम लिएको प्रमाण भेटे कारवाही गर्नेसमेत चेतावनी दिनुभयो । चोर बाटो प्रयोग गरेर भारत पुगेर फर्कीने जो कोहीलाई पनि १४ दिने क्वारेनटाइनमा राखेर मात्र घर पठाइने बताउनुभयो । महामारीको समयमा इस्लामपुर नाकाबाट मानिसहरु खुल्ला रुपमा आए पनि अन्य नाकाबाट पनि लुकिछिपी आउने गरेका छन् । विराटनगरकै दरैया नाकाबाट पनि सामान किन्न नेपाली जोगवनी जाने गरेका छन् । दरैया नाकाको दसगजामा भएको पोखरीमा कम्मरसम्म डुबेर नेपालीहरु सामान ओसारी रहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *