काठमाण्डौ २३ असोज
इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यतिबेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ । कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दाबी गरेका छन् । मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्व भर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सिमित भयो । लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुपर्यो । नेपालमा फ्रेन्चाईज लिगको अवधारणा सहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ती जारी गरेर अनिश्चितकालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चतकालका लागि स्थिगित गर्नु पर्दा खेलाडी देखी विज्ञापन दाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो । कात्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंक धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नुपर्ने शाहीले बताउनुभयो । नेपालमा क्रिकेटसंघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनुपर्ने कतिपयले सुझाउँदै आएका छन् । महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै खेलकुद गतिविधि सुचारु गर्नुपर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ । त्यसैले आवश्यक मापदण्ड तोकेर कडाईका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।