Saturday, January 18, 2025
Home > मुख्य समाचार > हत्तपत्त राजीनामा माग्नु राम्रो हैन : प्रधानमन्त्री दाहाल

हत्तपत्त राजीनामा माग्नु राम्रो हैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताउनुभएको छ । आज इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताउनुभयो । स्पष्टीकरणको मौका नदिकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको बताउनु भयो । सम्मेलनको क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएको बताउनुभयो ।

बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताको लागि यो महत्वपूर्ण हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले लम्पी स्किनको बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताउनु भयो । उहाँले सरकारको तर्फबाट लम्पी स्किनको निदानतर्फ सचेत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *