Saturday, January 18, 2025
Home > मुख्य समाचार > सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका सबै ५६ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका सबै ५६ ढोका खोलिए

अमर काफ्ले
इनरुवा, २९ साउन । सप्तकोशी नदीमा पानीको वहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिएपनि नदीको वहाव भने अझै उच्च छ । कोशीको पानी अझैपनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ ।

पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव ४ लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । अझैपनि ब्यारेजका सबै ढोका खुल्ला रहेको छ । बिहानको समयमा पानीको बहाव ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रतिसेकेण्ड सम्म पुगेको र वहावमा उतारचढाव जारी रहेकाले पूर्ण सर्तकता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले उच्च वहाव सँगै खोलिएका ब्यारेजका ५६ ढोका अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ ।

उता कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी अहिले सम्मकै तेस्रो उच्च वहाव हो । यस अघि ब्यारेजमा कोशी नदीको वहाव सन् १९६८ मा सबै भन्दा बढी ७ लाख क्युसेक मापन भएको थियो । १९८९ मा भने पानीको वहाव ४ लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

नदीको वहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको भने यो चौथो पटक हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो । यसैबिच नदीको बढ्दो जलसतह संगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनेको छ । सुरक्षाका सबै निकायलाई अर्लटमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति भने नपुर्याएतापनि जोखिम भने कायम रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखी निरन्तर अनुगमन जारी रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *