Saturday, January 18, 2025
Home > मुख्य समाचार > संसदमा सांसदहरुको प्रश्न- ‘बजेट बनाउन अनाधिकृत व्यक्ति कसरी प्रवेश गरे ?’

संसदमा सांसदहरुको प्रश्न- ‘बजेट बनाउन अनाधिकृत व्यक्ति कसरी प्रवेश गरे ?’

काठमाडौं, २३ जेठ । प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदहरुले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा प्रश्न उठाएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा निश्चित मानिसहरु मात्रै प्रवेश गर्न पाउने प्रावधान भएपनि अनाधिकृत मानिसहरुको प्रवेश भएको बताउनु भयो । उहाँले अनावश्यक मानिसहरु बाहिर, भित्र गरेर गोप्य सूचना चुहाएको बताउनु भयो । उहाँले अनाधिकृत मानिसको प्रवेश बारे अर्थमन्त्रीको जवाफ माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले विगत केही वर्षमा भ्रष्टाचार महामारीझँै फैलिएको बताउनु भयो । उहाँले पनि बजेट निर्माणमा अनाधिकृत मानिसको प्रवेशको सम्बन्धमा अर्थमन्त्रीको जवाफ माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पनि बजेट निर्माणमा अनाधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागि गरियो भन्ने प्रश्न गर्नुभयो । उहाँले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसको सम्बन्धमा पनि अर्थमन्त्रीबाट जवाफको माग गर्नुभयो । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई कसले किन नियुक्त गरिएको हो र नियुक्ति निरन्तरता किन दिइएको हो भनेर प्रश्न गर्नुभयो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस सम्बन्धमा छानविन गर्न सर्वदलिय संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट निर्माणमा हरेक वर्ष विचौलिया प्रवेशको कुरा उठ्ने र मिलापत्र हुने गरको भन्दै आगामी दिनमा त्यसो हुनु नहुने बताउनु भयो । उहाँले सम्पति र कारोबार अनुसारको कर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिने कानून बनाएमात्र बजेट निर्माणमा विचौलिया प्रवेश रोकिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *