Saturday, January 18, 2025
Home > स्थानीय समाचार > विराटनगरमा बटसावित्री पर्व मनाइँदै

विराटनगरमा बटसावित्री पर्व मनाइँदै

नवीन कर्ण
विराटनगर, ५ जेठ । मिथिलाञ्चलका महिलाहरुले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज बटसावित्री पर्व मनाइरहेका छन् । सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराएको विश्वासगर्दै त्यसैको सम्झनामा यो पर्व मनाउने गरिन्छ । मैथिली महिलाहरुले शुक्रबार धार्मिक विधिविधानपुर्वक बटसावीत्री पुजा गरेका छन् । बरको रुखको फेदमा गरिने यो पुजा सम्पन्न गर्न महिलाहरु चोक र मन्दीरहरुमा रहेका बरको रुख भएको ठाँउमा भेला हुने गर्दछन् । जेठमा अमावस्य तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको पूजा गर्ने चलन छ ।

मिथिलाका महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना, काँक्रो लगायतका सामग्री लिएर बरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् । विराटनगर ११ कि ब्रतालु ममता पण्डितले आज दिनभर ब्रत बस्ने बताइन् । प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि सोही समयदेखि बटसावीत्री अर्थात् बरसाइत पर्व मनाउन सुरू गरिएको धार्मिक विश्वास रहेको विराटनगर ११ कि आशादेवी कामतले बताइन् ।

बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्छन् । नवविवाहित महिलाले घरबाट माइतमा ल्याएका नयाँ बस्त्र धारण गरी साथीहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला हुने चलन छ । पुजाको क्रममा बरको रुखलाई धागोले ७ फन्को बाँधेर पुजा गरिन्छ । सो क्रममा ब्रतालु मध्येकै कुनै महिलाले बट सावित्री सम्बन्धि कथा वाचन गर्ने र ब्रतालु सबैले सुन्ने चलन छ । नवविवाहिता महिलाले यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, हातेपङ्खा, चामल, चना, कलात्मक नाग–नागिनी, हात्ती बनाएर ल्याउने समेत चलन छ । बरसाइत पूजा सम्पन्न भएपछि चामल, बदाम र अन्य पकवानहरू गाउँभरि बाँड्ने प्रचलन रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *