Saturday, January 18, 2025
Home > खेलकुद समाचार > रोमाञ्चक बन्दै ए डिभिजन

रोमाञ्चक बन्दै ए डिभिजन

काठमाडौं, १९ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लवलाई चिन्ता छ ।२३ औं चरणसम्म लिग सकिएपनि तीन चरणका खेल बाँकी रहँदा कुनैपनि टोलीको उपाधि र रेलिगेशन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कसको बिरुद्ध खेल्ने हो, त्यो निश्चित भएपनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समिकरण प्रतिष्पर्धात्मक बनेको छ ।यसै सिजन बढुवा भएको चर्च ब्वाईजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेसँगै २३ औं चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाईजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ । चर्च ब्वाईजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३ औं चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्र भन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । बलियो टोलीबिरुद्ध सुखद् नतिजा निकाल्दा तालिकाको पुछार तिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सन लायक प्रदर्शन रह्यो ।

जावालखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।यस्तै विभागीय टोली नेपालको पहिलो लेगमा खराब प्रदर्शन रहेपनि अन्त्यतिर पुलिसको प्रदर्शन सुधारिएको थियो । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो तर अहिले भने पुलिसलाई रेलिगेशन डर कम भएको छ । पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलबाट अंक गुमाएको छ । यस्तै शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरेपनि खेलमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सिजन जारी रहँदा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवि खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मीले छैठौं स्थानमा अटाएको छ । आर्मीले २३ खेलबाट ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ ।

आर्मीको ३० अंक हुँदा शीर्ष स्थानको चर्च ब्वाईजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ । अर्को टोली हिमालयन शेर्पाको पनि प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद् नतिजा निकाले पनि आपूm भन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन । हिमालयन शेर्पाले २३ खेल सक्दा ७ खेलमा स्पष्ट अंक बटुल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाउन पुगेको छ । उता सातदोबाटो एकै चरण मात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछिको डाउन फल भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अंकका साथ आठौं स्थानमा रहँदा जारी लिगमा ८ खेलमा जित, ५ खेल बराबरी र १० खेल गुमाउन पुगेको छ । समान २९ अंक रहेको न्युरोड टिम पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित दुई बराबरी र एक खेल गुमाएको न्युरोड टिमको रेलिगेशन भय बाँकी नै छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ । तीन खेल मध्ये सबैमा सुखद् नतिजा निकाले खुमलटारको समिकरणबाट बदलिनेछ र छैठौं स्थान देखिको टोलीलाई उत्तिकै डर रहेको छ ।यस्तै अर्को विभागीय टोली एपिएफले शुरुवात राम्रो गरेपनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो ।

यद्यपि एपिएफलाई रेलिगेशन बच्ने निश्चिता छैन । खराब लयलाई अनुभवि प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् ।थ्री स्टारका साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । थ्री स्टार २७ अंकका साथ तालिकाको ११ औं स्थानमा छ । अर्को टोली संकटालाई पनि यो सिजन रेलिगेशन बच्ने सोच भन्दा माथि उठ्नका लागि मौका नै मिलेन । १२औं स्थानमा रहँदा संकटा रेलिगेशन भन्दा एक स्थानमाथि मात्र छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेण्ड्स र खुमलटार भने रेलिगेशन बच्नका लागि संघर्ष गरिरहनुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *