Saturday, January 18, 2025
Home > मुख्य समाचार > राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार : पूर्वसभामुख नेम्बाङ

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार : पूर्वसभामुख नेम्बाङ

काठमाडौं, १८ जेठ । नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ । आज मकालु टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधान, कानून, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गर्नुभयो । उहाँले संसदलाई छेउ पार्ने काम गरिएको भन्दै यस्तो गर्नु गलत भएको बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणिकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणिकरण नगरेको उल्लेख गर्दै विधेयक उतिबेलै निस्क्रिय भएको बताउनु भयो । त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको उहाँले बताउनु भयो । उहाँले नागरिकता प्रमाणिकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताउनु भयो । यो विषय संसदमा पनि उठाउने बताउनु भयो । नेम्वाङले यो विषयले अदालतमा प्रवेश पाउनसक्ने संकेत समेत गर्नुभयो । उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरु भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरुको बिचमा राष्ट्रिय विषयहरुमा एकताको आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *