Saturday, January 18, 2025
Home > खेलकुद समाचार > युनियनको स्थापना दिवसमा दौड प्रतियोगिता

युनियनको स्थापना दिवसमा दौड प्रतियोगिता

विराटनगर, १५ जेठ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर तथा १६ औं गणतन्त्र दिवसको सन्दर्भमा आयोजित सञ्चारकर्मीहरुबीचको खुल्ला दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम हुनु भएको छ । विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दूरी पार गर्दै अनलाइन खबरमा कार्यरत अधिकारी प्रथम हुनु भएको हो । प्रथम हुने अधिकारीले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी पत्रकार नवराज कट्टेल द्वितीय हुँदै नगद ४ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभयो । पत्रकार देवराज तामाङ तृतीय हुँदा नविन भट्टराई र पवनकुमार साहले सान्त्वना स्थान सुरक्षित गर्नुभयो ।

तृतीय हुने तामाङले ३ हजार ५ सय पाउँदा सान्त्वना हुने दुवैजनाले जनही ३ हजार पाउनुभयो । पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पत्रकारहरुबीचको दौड प्रतियोगिताले स्वयम पत्रकारहरुमा स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन सन्देश दिने बताउनुभयो ।

उहाँले जनतालाई सुसूचित बनाउन सधैं रहने पत्रकारहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो । आयोजक संस्थाका अध्यक्ष मीनकुमार नवोदितले सञ्चारकर्मीहरुबीच एकता कायम गर्दै स्वास्थ्यका लागि खेलकुद, सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । सबै पत्रकार स्वस्थ हुन शारीरिक व्यायाम जरुरी रहेको उहाँको भनाइ थियो । दौड प्रतियोगिता गरेर पत्रकारलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार हुन सन्देश दिएको अध्यक्ष नवोदितले बताउनुभयो । प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौलाले धन्यवाद ज्ञापन गरेको प्रतियोगिताको प्राविधिक पक्ष मोरङ एथ्लेटिक्स संघका अध्यक्ष दिनेश कर्णसहितको टिमले हेरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *