Saturday, January 18, 2025
Home > मुख्य समाचार > मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेको विरोध

मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेको विरोध

विराटनगर, ५ भदौ । सभामुखलाई समेत प्रयोग गरेर विश्वासको मत लिएपछि कोशी प्रदेशमा फेरि विवाद र अन्यौलको राजनीति सुरू भएको छ । विपक्षी दलले विश्वासको मत पाउनबाट रोक्ने र सत्तारुढ गठबन्धनले विश्वासको मत लिएरै छाड्ने होडले अन्ततः कोशी प्रदेशको राजनीति पुनः धमिल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत पाउनुभएको छ । आजको प्रदेशसभा वैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री थापाले प्रदेशसभा बैठकमा राख्नुभएको थियो । थापाले राखेको विश्वासको मतको पक्षमा ४७ र विपक्षमा ३० मत प्राप्त भएको कोशी प्रदेशसभामा सभामुखको भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले जानकारी दिनुभयो ।

विश्वासको मत लिनेक्रममा सभामुखको भूमिका निर्वाह गरिरहेका सांसद इस्रायल मन्सुरीलाई समेत मतदान गर्न लगाइए पछि विपक्षी दलका सांसदहरूले प्रदेशसभा भित्रै नारावाजी गरेका थिए । विपक्षी सांसदहरूको नारावाजीकैवीचमा सभामुख मन्सुरीले मत परिणाम सार्वजनिक गर्नुभएको थियो । प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुख सृजना दनुवारलाई विरामीको बहानामा प्रदेशसभामा उपस्थित नगराई काठमाण्डौ पठाएपछि नेपाली कांग्रेसका सांसद तथा अध्यक्ष मण्डलका सदस्य इस्रायल मन्सुरीले प्रदेस सभा सञ्चालन गर्नुभएको थियो । सत्तारुढ गठबन्धनसँग ४७ मत मात्रै रहेका कारण सभाध्यक्ष मन्सुरीलाईसमेत मतदान गर्न लगाइएको थियो । सभामुखको जिम्मेवारी सम्हालेका मन्सुरीलाई कतदान गर्न लगाएको विषय कानुन विपरित नभएको कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले बताउनुभएको छ । उहाँले मन्सुरी सभामुख नभएको र सभाको अध्यक्षता गर्न बाध्य पारिएका कारणलेमात्रै सभाको अधयक्षता गरेको बताउनुभयो ।

थापाले सभामुखको हैसियतले नभई सांसदको हैसियतले मतदान गरेका कारण मन्सुरीले गरेको मतदान विधिसम्बत रहेको थापको दाबी छ । यता सभामुखलाई प्रयोग गरेर विश्वासको मत लिएपछि मुख्यमन्त्रीले लिएको विश्वासको मत विवादमा परेको छ । प्रतिपक्षी दल नेकपा एमालेले संविधान र कानुन विपरितको गतिविधि सत्तापक्षबाट भएका कारण राजनीति र कानुनी दुबैखालको उपचार खोज्ने जनाएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमालेले राजनीतिक र कानुनी दुबैखालको उपचार खोज्ने प्रतिक्रिया दिनुभयो । नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीले विश्वासको मत लिएको प्रक्रिया ठीक भएको दाबी गर्नुभएको छ । उहाँले संविधान र कानुनले दिएको अधिकार भित्रै रहेर मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको बताउनुभयो ।

कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ४७ जना सांसदहरू छन् । जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सदस्य छन् । यस्तै विपक्षी गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । ९३ जना सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आबश्यक पर्दछ । छलछाम गरेर विश्वासको मत लिएपनि कोशी प्रदेशसरकार स्थिर हुने अवस्था भने न्यून देखिएको छ । यस अघि पनि सभामुखको समर्थनमा सरकार गठन गरेका कारण सर्बोच्च अदालतले मुख्यमन्त्री उद्वव थापाको नियुक्ती नै बदर गरिदिएको थियो । फेरिपनि त्यस्तै खेल प्रदेशसमा हुनथालेपछि कोशी प्रदेश अस्थिरताको चपेटामा पर्ने निश्चित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *