Saturday, January 18, 2025
Home > Uncategorized > बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् । विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा रामकुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो । यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन हिजो भन्सार जाँच पास गरेर अपराह्न दुई बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो । बरामद भएको सुन करिव एकसय किलो भनिएको भएपनि परिमाण एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *