काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताउनु भएको छ । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । आज काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उहाँले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताउनु भयो ।
ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गर्नु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरेपनि कमजोर बनाउन नसक्ने दावी गर्नु भयो । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउनु भयो । ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गर्नु भयो । उहाँले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराउनु भयो ।