Saturday, January 18, 2025
Home > मुख्य समाचार > पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको बारे प्रष्ट पार्न सांसद पन्तको माग

पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको बारे प्रष्ट पार्न सांसद पन्तको माग

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले आफुलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडियो बनाएर बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनि भ्रम फैलाएकोले छानविन गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले बझाङमा कसैले सैनिक क्याम्प खडा नगरेको स्पष्ट पार्नुभयो । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले इपासपोर्ट सातै प्रदेशबाट पाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।

त्यस्तै इमर्जेन्सी इपासपोर्ट प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था मिलाउन माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैमाथि छानविन गर्नुपर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य मैना कार्कीले महिलामाथि हुने घरेलु हिंसा रोकी अपराधिहरुलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले औद्योगिक राष्ट्रहरुले व्यापक मात्रामा कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालले भोग्नु परिरहेको बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले शुन्य समयको नाम परिवर्तन गरी मन्त्रीले सुन्ने समय राख्न माग गर्नुभयो । त्यस्तै संसदीय सुनुवाइ समिति बनाएर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया प्रारम्भ गर्न उहाँले माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले खहरे नियन्त्रणका लागि व्यवस्थित योजना बनाई बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले खहरेबाट बगेर आएका ढुंगा, गिट्टी बेचेर करोडौँ राजस्व उठाउन सकिने भन्दै यसतर्फ आवश्यक कानूनी प्रक्रिया अपनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *