Saturday, January 18, 2025
Home > मुख्य समाचार > निल गाई नियन्त्रण गर्न सांसद साहको माग

निल गाई नियन्त्रण गर्न सांसद साहको माग

काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले जसले जति पानी निकाल्छ, सोही अनुरुप शुल्क तोक्न पनि उहाँले माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले विद्यालय कर्मचारीहरु आफ्नो सेवा, सुविधाको विषयलाई लिएर आन्दोलित भइरहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले संघीयता निजामती सेवा ऐन तुरुन्त ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य दिपक खड्काले कुलुङ र मेवाङ जातिलाई आदिबासी जनजातिमा सूचिकृत गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले कृषि अनुदानको दुरुपयोग भइरहेको भन्दै छानविन गरी दोषि उपर कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले कृषि अनुदान दुरुपयोगमा सांसद र मन्त्रीहरु नै संलग्न रहेको बताउनु भयो । प्रतिनिधि सभा सदस्य दीपा शर्माले सरकारले कपास विकास समिति खारेजी गरेकोप्रति आपत्ति प्रकट गर्नुभयो । प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले देशको ३५ भन्दा बढी जिल्लामा गाई भँैसीहरुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा रोकथामका लागि यथाशिघ्र पहल गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य दीपा राईले किराँतीहरुलाई मृत्युपश्चात दाहसंस्कार गर्न जमिन आवश्यक भएको भन्दै त्यसको निम्ति व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य धवल समशेर जबराले नेपालगञ्जमा गर्मी बढेको भएपनि बिजुली गइरहने समस्या हुँदा जनजिवन प्रभावित भएको बताउनु भयो । उहाँले नेपालगञ्ज कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी, बन्दी राखिएको उल्लेख गर्दै निर्माण सम्पन्न भइसकेको क्षत्रिय कारागार सञ्चालन गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य प्रभु साहले तराई मधेशमा घोडगधा(निलगाई)को बिगबिगी भएको बताउनु भयो । उहाँले घोडगधाका कारण किसानको बालिनाली नष्ट भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकार सँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले अतिरिक्त हुलाक सेवा खारेजी नगर्न सरकारसँग अनुरोध गर्नुभयो । प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारसँग माग गर्नुभयो । उहाँले यस रोगको सम्बन्धमा यथार्थ तथ्यांक संसदमा पेस गर्न पनि माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य विनिता कठायतले पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दुतावासको माग गरिरहेका भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यसैगरी अन्य सांसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्र विशेषका कुराहरुलाई संसदमा उठाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *