Saturday, January 18, 2025
Home > मुख्य समाचार > धरानमा निषेधाज्ञा

धरानमा निषेधाज्ञा

धरान ८ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

भरे राति १२ बजेदेखि लागू हुनेगरि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा जारी गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा धरान उपमहानगरपालिका क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखेर कुनैपनि किसिमका धार्मिक, सामाजिक तथा राजनितिक ¥याली, सभा, भेला गर्न निषेध गरिएको छ । आज राति १२ बजेदेखि भोलि राति बाह्र बजेसम्म धरानका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू हुने छ । धरानमा गोरु काटेर खाएको भन्ने भिडियो सामाजिक सञ्जालमा लाइभ गरेपछि हिन्दू समाजले विरोध गर्दै आएको छ । सोही क्रममा भोलि धरानमा वृहद विरोध प्रदर्शन गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । हिन्दू धर्मगुरुहरुले यसको विरोध गर्दै गोरु काटेर खानेलाई कानूनी कारवाहीको माग गर्दै आएका छन् । धरानमा फेसबुक लाइभ नै गरेर गोरु काटेर खाएको विषयले देशभर नै तरङ्ग फैलाएको छ ।

यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गर्नुभएको छ । आज एक अपिल जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस्तो अपिल गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *