विराटनगर, २९ जेठ । हुलाकी राजमार्गमा दैनिक दुर्घटना हुने र मृत्यु हुने क्रम बढ्न थालेपनि गाउँपालिकाले चासो नदेखाएको भन्दै युवाहरुले आज कटहरी गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । कटहरी स्थीत हुलाकी राजमार्गमा हिजो भएको सडक दुर्घटनामा परि मृत्यु भएका युवालाई न्यायको माग गर्दै युवाहरुले गाउँपालिका घेराउ गरेका हुन् । सो सडक खण्डमा बारम्बार दुर्घटना हुदा ज्यान गुमाउनेको संख्या बढेको स्थानीयले बताए ।
मृतकको संख्या दिनहुँ बढ्दा समेत गाउँपालिकाले चासो नदिएको समाज कल्याण युवा क्लबका अध्यक्ष दीपक यादबले बताउनुभयो । उता गाउँपालिका अध्यक्ष देवराज चौधरीले यो विषयमा गाउँपालिका गम्भीर रहेको बताउनुभयो । सम्बन्धित पक्षलाई बारम्बार ताकेता गरेको उहाँले बताउनु भयो । हुलाकी राजमार्ग आफ्नो अधिकार क्षेत्र बाहिर रहेकाले आफुले यसमा केही गर्न नसक्ने उहाँले बताउनु भयो । हिजो पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले साइकल यात्री इलाम तिल्केनीका २१ वर्षीय सुशील पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।