Saturday, January 18, 2025
Home > मुख्य समाचार > दशैँमा घर फर्किनेका लागि आजदेखि अग्रीम टिकट बुकिङ सुरु

दशैँमा घर फर्किनेका लागि आजदेखि अग्रीम टिकट बुकिङ सुरु

काठमाडौं, २२ असोज । दशैँमा घर जाने यात्रुका लागि आज (सोमवार) देखि अग्रिम टिकट बुकिङ शुरु भएको छ ।

सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरुले गुनासो छ । उनीहरुले सम्बन्धित जिल्लाका सांसदहरुले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरुले जिल्लावाइज टिकट काउण्टर राख्न सुझाव दिएका छन् ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताउनु भयो । उहाँले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताउनु भयो । उहाँले यस पटक सुरक्षाका लगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताउनु भयो । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताउनु भयो । उहाँले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने बताउनु भयो । उहाँले सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताउनु भयो ।

चाडबाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न आग्रह गर्नुभयो । हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *