Saturday, January 18, 2025
Home > विराटनगर समाचार > तोकिएकै मितिमा पोखरी निर्माण सम्पन्न गर्न मेयर कोइरालाको निर्देशन

तोकिएकै मितिमा पोखरी निर्माण सम्पन्न गर्न मेयर कोइरालाको निर्देशन

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्रै निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिनुभयो ।

चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको मेयर कोइरालाले बताउनुभयो । धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उहाँको भनाइ थियो । १६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो ।

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयसमेत खुसी देखिएका छन् । स्थानीय नित्यानन्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम गरिरहेको दाबी गर्नुभयो । उहाँले गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको बताउनुभयो । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *