Saturday, January 18, 2025
Home > आर्थिक समाचार > जहदाका किसान जुट खेतीतर्फ आकर्षित

जहदाका किसान जुट खेतीतर्फ आकर्षित

सतिस राजवंशी
विराटनगर, २७ जेठ ।
पूर्वी तराई क्षेत्रमा नगदेबाली जुट खेती घट्दै जाँदा मोरङको जहदा गाउँपालिकामा भने जुट खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि किसानहरु जुट खेतीतर्फ आकर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिकामा यति बेला जुट खेति गर्ने किसानको संख्या बढेको हो । यस बर्ष जहदामा मात्र ६० हेक्टर क्षेत्रफलमा जुटको खोती गरेको गाउँपालिकाले जनाएको छ । गत वर्षको तुलनामा १० हेक्टर क्षेत्रफलमा जुटको खेति बढेको हो । आर्थिक वर्ष २०७९–८० मा कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा १४ वटा जुट प्रसोधन पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यसरी विभिन्न कार्यक्रममार्फत किसानहरुलाई जुटखेतीतर्फ आकर्षित बनाउँदै गएको गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सुब्बा सौरभ सिंह बताउनु हुन्छ ।

मकै र अन्य बाली भन्दा कम खादमल लाग्ने र राम्रो आम्दानी हुने देखेपछि जुट खेती गरेको कृषकहरुले बताए । राम्रो उत्पादन भए एक कठ्ठामा नै १५ हजार बढी आम्दानी हुने स्थानीय कमला राजवंशीले बताउनुभयो । तर अन्य बालीमा जस्तै जुट खेतीमा समेत किसानले विउ, खादमल, र सिचाँईको समस्या भने भोग्दै आएको किसान नागेश्वर मुखियाले बताउनुभयो । केही दिन यताको प्रचण्ड घाम र सिचाइँको अभावमा विरुवाहरु मर्न थालेका छन्, बारी सुखेर खेत फाट्न थालेको छ । तर गाउँपालिका सुचना अधिकारी तथा प्रशासन अधिकृत डिल्ली प्रसाद पोखरेल भने जहदाको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत भुभाग सिचाँईको सुविधा रहेको दावी गर्नुहुन्छ । जहदाका अधिकाशं परिवार कृषिमा आश्रित छन् । अनुदान आउँदा हौसिएका किसानहरु केही वर्ष नहुँदै देखिने साना समस्याका कारण यस्ता खेति छोड्न बाध्य हुने गरेका छन् । तसर्थ अनुदानबाट सुरु भएको कार्यक्रमलाई दिगो बनाउनका लागि स्थानीय सरकारले दीर्घकालिन रणनीति अविलम्ब अबलम्बन गर्नु आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *