विराटनगर, २१ जेठ । चोरी तस्करीमा संलग्न तिन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउपालिका ६ सुनसरीका २६ बर्षीय दिपककुमार साह, २६ बर्षीय गुरुदेव साह र विराटनगर ५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । उनिहरुलाई प्रहरीले भारतबाट चोरीतस्करीगरि ल्याईएको रजनीगन्धा तुलसी सहित पक्राउ गरेको हो । चोरी तस्करीगरि ल्याइएको ८ हजार ६ सय ९४ पिस रजनीगन्धा र ७ हजार ३ सय ४४ पिस तुलसी विराटनगर ५ स्थित गणेश जनरल स्टोरमा भण्डारण गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरुले प्रयोग गरेका को १३ प ५०८५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले चोरी तस्करीको सामान सहित तिनैजनालाई पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका २ बाट भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १ सय ८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।