काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताउनुभएको छ । एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताउनुभएको हो । उहाँले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताउनु भयो ।
उहाँले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको बताउनु भयो । उहाँले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ।’ टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताउनु भयो ।