सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई हराएको छ । च्यासल मैदानमा आज पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मछिन्द्रका आफिज ओलावालेले एक गोल गरे । पुलिसको यो ११ औं जित हो । पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अर्काे खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । एनआरटी दशौँ स्थानमा रहेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ । हिमालयन सातौं स्थानमा रहेको छ । अर्काे खेलमा संकटा क्लबले खुमलटारमाथि सहज जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो । संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे । संकटाको यो सातौं जित हो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । संकटा ११ औं स्थानमा रहेको छ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ । यस हारले खुमलटार रेलिगेसनमा पर्ने सम्भावना बलियो बनेको छ ।