Saturday, January 18, 2025
Home > मुख्य समाचार > एनआरएनलाई नागरिकता दिन शुरु

एनआरएनलाई नागरिकता दिन शुरु

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताउनुभएको छ । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बतउनुभएको हो । प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रवन्ध गरिएको बताउनु भयो ।

उहाँले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलार्ई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताउनु भयो । उहाँले नेपाल सरकारले विदेशी लगानीको न्युनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताउनु भयो । उहाँले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको समेत बताउनु भयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नागरिकता अभियान शुरु गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभइ मुटुको अंश भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन आज गैर आवासीय नागरिकता अभियान शुरु गरिएको छ, त्यसको धन्यवाद छ । गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै होइन, मुटुको अंश बन्नेछ । यो प्रत्येक धड्कनमा नेपाल आमालाई खुशी बनाउन लाग्नेछौँ ।’
कार्यक्रममा बोल्दै संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रुपमा नै सार्थक बनेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नागरिकता एउटा अभिभारा पनि भएको र अब मुखले मात्र नभइ कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्ने र गैरआवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीयलाई मात्रै नभइ उनीहरुका सन्तानलाई पनि नेपालसँग जोडिरहने बताउनु भयो । उहाँले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।  अध्यक्ष आचार्यले गैरआवासीय नेपालीसँग रहेको श्रोत, साधन र सम्पतीको उपयोग गरेर मातृभूमिको सेवा गर्ने मौका अब आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *