इनरुवा, १६ जेठ । पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका व्यक्तिलाई सरकारले माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।
प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्व प्रहरी कर्मचारी पहल बहादुर कटवालले बताउनुभयो । पुत्ला दहन कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु कानुनीराज्यको उपहास भएको बताए । उनीहरुले सरकार प्रति जनताको विश्वास गुम्दै गएको समेत समेत बताए । पूर्व प्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरु समेत सहभागी थिए ।